Silapatra

राजनीतिक दलहरू रूपान्तरण हुन जरुरी छ

  • Dr. Budhhi Sharma
  • Silapatra

किन राजनीतिक दल समाजमा कमजोर हुँदै छन् ?


यतिखेर विश्वका राजनीतिशास्त्रका अध्येताहरू विश्वका लोकतन्त्रहरूमा राजनीतिक दलहरूको खुम्चिँदो अवस्था, जनचासो र विश्वासमा संकट र परिवर्तित परिस्थितिलाई दलहरूले बुझ्न नसक्नुका संकटहरूबारेको नयाँ बहसमा केन्द्रित हुन थालेका छन् ।

दक्षिण एसियादेखि युरोपसम्म, अमेरिकादेखि अफ्रिकासम्म परम्परागत दलहरूप्रति जनसाधारणमा असाध्यै नकारात्मक टिप्पणीहरू बढ्न थालेको छ । नेपालमा समेत पुराना दलहरूप्रतिको वितृष्णा त छँदै छ, नयाँ दलहरूप्रति पनि नागरिकमा बिस्तारै असन्तुष्टि र अविश्वास बढ्न थालेको छ । राजनीतिक दलहरूमा व्यापक आन्तरिक सुधार गरी नयाँ परिवेशअनुसारको पार्टी निर्माणमा जुट्नुपर्नेमा त्यसो हुन सकेको छैन । यसले गर्दा उदार लोकतन्त्रले नयाँ संकटको सामना गर्दै अनुदार र अधिनायकवादी राजनीतिक गतिविधिहरूको धक्का महसुस गर्न परिरहेको छ ।

लोकतन्त्रको मेरुदण्ड मानिने राजनीतिक दलहरूको संस्थागत क्षमता, जनविश्वास, संगठन र वैचारिक आधार मुख्य गरी पछिल्लो दशकयता कमजोर हुँदै गएको छ । आधुनिक लोकतन्त्रको इतिहास हेर्दा राजनीतिक दलहरूको बढ्ता उदय र सक्रियता १९औँ शताब्दीदेखि भयो । सुरुवातमा राजनीतिक दलहरूप्रति सत्ता र समाज दुवैको राम्रो दृष्टिकोण थिएन । बिस्तारै नागरिकलाई बुझाउने र उनीहरूका मुद्दा मुखरित गर्दै जाँदा समाजले अपनत्व महसुस गर्‍यो । अन्ततः जनपरिचालन, नीति निर्माण, प्रतिनिधित्व र शक्तिको शान्तिपूर्ण हस्तान्तरणमा दलहरू अपरिहार्य संस्थाहरू बन्न पुगे ।

किसान, मजदुर, युवा, महिलालगायतका मानिसहरूलाई सहभागी गराउँदै विभिन्न विचार र मोडेलमा आधारित राजनीतिक दलहरू निर्माण हुँदै गए । यसमा पनि मास पार्टीमा आधारित संरचनाको प्रयोग अधिकांश दलहरूले गरे, अन्य विकल्पहरू पनि अभ्यास हुँदै आयो ।

मुख्य गरी दोस्रो विश्वयुद्धपछि उदार, दक्षिणपन्थी र कम्युनिस्ट विचारधारामा आधारित दलहरूको निर्माण विश्वभर हुन थाल्यो । लोकतन्त्रवादी अमेरिका र कम्युनिस्ट सोभियत युनियनबीचको टकरावले सन् १९८९ मा शीतयुद्धको समाप्ति नहुँदासम्म विश्व राजनीतिलाई एकदमै विभाजित गर्‍यो । लोकतन्त्रको लहर धेरै देशमा देखिँदा सोभियत युनियनको पतनपश्चात् लोकतन्त्रको सम्वर्द्धनमा थप योगदान पुग्यो ।

सँगसँगैको आर्थिक, प्रविधिको विकास, विश्वव्यापीकरणको सघन लहरलगायतले विश्व समुदाय थप जोडिँदा विश्वमञ्च राजनीतिमा अमेरिकी चाहनाभन्दा फरक किसिमको बहुध्रुवीय विश्व संरचना तयार हुँदै गयो । अलोकतान्त्रिक भनिएका देशहरूका नागरिकसमेत प्रविधिको प्रयोगमार्फत आफ्ना धारणा वा ज्ञान विश्वमाझ प्रस्तुत गर्ने अवसर सिर्जना भयो, जसले सर्वत्र उदारीकरणमा टेवा पुर्‍याइरहेको छ ।

नेपालमा २००७ सालमा प्रजातन्त्रको स्थापनाका लागि होस् या त्यसयता हालसम्मका राजनीतिक परिवर्तनहरूमा राजनीतिक दलहरूको उच्च योगदान र प्रत्यक्ष सक्रियता रहँदै आएको छ । राजनीतिक परिवर्तनसँगै यसले समाजका अन्य अवयवहरूमा पनि रूपान्तरण ल्याउने गर्दछ । नेपालमा जस्तै विश्वका धेरै देशहरूमा २०४६ यता लोकतान्त्रिक सुधारहरू भएका छन् । तथापि, २०औँ शताब्दीको अन्त्य र २१औँ शताब्दीको सुरुवातसँगै विश्वका लोकतन्त्रहरूमा नयाँ संकट देखा पर्न थाल्यो । राजनीतिक दलहरूप्रति वितृष्णा बढ्न थाल्यो, निष्ठा कम हुँदै गयो । हुन त राजनीतिक वैज्ञानिकहरूले सन् १९७० कै दशकदेखि ‘डेमोक्रेसी डिक्लाइन’को बहस गर्दै हरपल सहज र जिम्मेवार रहन राजनीतिक नेतृत्वहरूलाई चेतावनी दिँदै आएका थिए ।

पछिल्लो एक दशकयता परम्परागत दलहरूप्रतिको जनविश्वास, मत प्रतिशत र सदस्य घट्दै आएको छ । आमनिर्वाचनमा सहभागिता प्रतिशत बलिया लोकतन्त्र भएका युरोपेली मुलुकहरूमा घट्दै जानुले कमजोर लोकतन्त्रहरूमा नागरिक आवाज थप कमजोर हुँदै जाने खतरा छ । सन् २०२४ मा भएका आमनिर्वाचनमा विश्वका विभिन्न मुलुकहरूमा सत्तारुढ दलहरूले झट्का खानुपर्‍यो ।

Back to media